जेेठ १६, पोखरा ; नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।
दलित हुनुको कारण!
राज्य सञ्चालन, उपभोग, जाति, भाषा विकास गर्ने सिलसिला हेर्ने हो भने दलित जातिको लामै इतिहास रहेको पाइन्छ नेपालमा । 'राजा हुन चाहियो जे खोज्यो त्यही पाइयो' भन्ने उखानको अर्थसहित नेपालमा दलित जातको उत्पत्तिको बारेमा खोज्ने प्रयास गरेको छु ।
राज्य सञ्चालन कसरी गर्ने भन्नेबारेमा भाइभारदारका बीचमा राजपरिवारमा छलफल भयो । त्यसपछि जयस्थिति मल्लले विचार गरे, अब सीपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ । अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे । राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ ।
त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक पर्यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकजनाले भनेछ-महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो- गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो- महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो ।
तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने-तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए- यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।
त्यही क्रममा मल्लकालमै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । जब उनी राजाको रूपमा राजगद्दीमा आसीन भए, दरबारमा पूजा लगाउने चलन थियो, हरेक आइतबार । बिहानको समयमा बोकाको बलि चढाउने बेलामा खुकुरीको आवश्यक पर्यो । त्यो कहाँबाट ल्याउने हो भन्नेबारे छलफल भयो । त्यसै बेलामा फलामसम्बन्धी ज्ञान भएकाहरूको भेला गराइयो । राजाबाट हुकुम भयो-कसले यो काम गर्न सक्छ ? एकजनाले फेरि म बनाउन सक्छु भनिहाल्यो । त्यसपछि उनी त्यो काममा लागेर खुकुरी बनाएर ल्याएपछि राजालाई देखाएछन्, उनले पनि स्याबासी पाएछन् ।
त्यहीबेला रानी पनि त्यहाँ आइपुग्दा उनले भनिन्-यो कसले बनाएर ल्याएको हो ? तरबार बनाउनेले भन्यो- मैले हजुर । अनि रानीले पड्केर भनिछन्-तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्याएको ? त्यसैले अब तिमीले यो हतियार राजाबाट पूजा भएपछि छुनु हुँदैन । अनि त्यो व्यक्तिले कहिल्यै पनि राजाको अगाडि गएर आफूले बनाएको समान राजा-महाराजाबाट पूजा सकेपछि बनाउने मान्छेले छुन नपाउने भयो ।
त्यसपछि त्यो तरबार लुवाबाट बनेको हुनाले पछि त्यो बनाउने मान्छेलाई लोहार जात राखियो भन्ने विभिन्न प्रमाणबाट सिद्ध भएका छन् । राजाले रानीको आज्ञा मान्दै लोहारलाई नजिकै नल्याएपछि हाल त्यो दलित भनेर चिनियो । त्यो नै दलितलाई अभिशाप बन्न गयो ।
यसैलाई कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला-पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो ।
तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ ।
आजका दलितले पनि त्यही दुर्गति भग्दै आएका छन् । मानवमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रस्ट भएको पाइन्छ । राष्ट्रिय नागरिक अदालतले सन् १८५४ मा मुलुकी ऐन निर्माण गरी नेपालबाट जातीय छुवाछूत अन्त्य भएको घोषण गर्यो, तर कार्यान्वयन भने हुन सकेन । हालसम्म पनि विभिन्न दलित वर्गका मानिसले त्यही नियति भोग्दै आएका छन् ।
नेपालमा झन्डै २० प्रतिशत दलित रहेको तथ्यांक पाइन्छ । तीमध्येबाट उनीहरूमा भएको सीप, कला र संस्कृतिलाई मात्र जगेर्ना गर्न सकेकोमा उनीहरू आफैंमा भरिपूर्ण हुनेछन् । नेपालमा भएको दलित जातको बारेमा पनि थुप्रै अनुसन्धान नभएको पनि होइन, केवल कागजमा मात्र सीमित भएका छन् ।
कुनै न कुनै तवरबाट दलितहरूलाई अपहेलित गर्ने प्रचलन अद्यापि छ । त्यो नै दलितको लागि अभिशाप बन्न गयो ।
त्यसैको विकसित स्वरूपमा नेपालमा जातिप्रथाको जग बस्यो र पछि पृथ्वीनारायाण शाहले पनि भुरेटाकुर राजाहरूलाई एकीकरण गर्दा खासै दलितहरूलाई लडाइँको बेलामा प्रयोग गरे । जातीय भेदभाव अन्त्यको पहल नै गरिएन । भारतमा महात्मा गान्धीले गरेजस्तै गरे । सिंगो नेपाल निर्माणदेखि आजसम्म दलितको पनि कम योगदान छैन । मनिराम गाइने, बागे सार्की, बिर्खे नकर्मी, दिलबहादुर रम्तेल जस्ताले दलित मुक्ति आन्दोलनको लागि आफूहरू बलिको बोको भए । जसको फाइदा अगुवाहरूले उठाए । दलित भने जहाँको त्यहीं । वाचा गरे लडाइँको बेला अनि फुक्का पारे तिनीहरूको शक्ति र भक्तिलाई ।
दलित वृद्धाले सधैं भने गर्छन्-दलितहरू सीपयुक्त हुने भएकाले काममा लगाउने तर फल उपल्लो जातकाले खाने ? कुनै न कुनै तवरबाट उनीहरूलाई अपहेलित गर्ने प्रचलन छ । एक्काईसौं शताब्दीमा आइपुग्दा दलित जातको बारेमा भएका अनेकौं खोजबिनले पनि दलितको इतिहास लामो रहेको पाइन्छ ।
जव सम्म मानिसको चिन्तनमा सकारात्मक परिवर्तन देखा पार्न सकिदैन तवसम्म हाम्रो व्यवहार वनावटी नै भईरहन्छ । नत्र त अझै पनि यस्ता घटनाहरु मौलाईरहने र सामाजिक मान्यताहरु विगत भन्दा फरक अनुभुत गर्न नसकिने पक्का छ ।
(लेखक नवराज सुनार जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन!)
No comments:
Post a Comment